साँझको घडी, थकानको यात्रा : दिलेन्द्र जोशी

शैल्यशिखर ८ दार्चुला : दिनभरको दौडधुप सकिँदै थियो। बेलुका शहरमा अँध्यारो छर्न थालिसकेको, सडकका बत्तीहरू क्रमशः बल्न थालेका।  म—दिलेन्द्र जोशी, औषधि बिक्री प्रतिनिधि—समयसँग होड गर्दै घर फर्किन निलो बागमती प्रदेशको स्कुटर हुइँकाउँदै थिएँ। दुई किलोमिटर यात्रा सकिदै गर्दा लैनचौर पुग्नुभन्दा पहिले नै अगाडि ठिंग ठिंग रोकेर बसेको लामबद्ध गाडीहरूको लाइन देखियो—ट्राफिक जाम! चाबी बन्द गरेँ, मोबाइल निकालेँ—५:२० बजिसकेको रहेछ। “सुट–बुट, ब्याग, लिफ्लेट, स्याम्पल… तलब राम्रै होला, तर दिनभरको यो कुदाइ कहिले सम्म?” मनमा अनौठो भारीपन। हतारिएको मन, अड्किएको सडक जाम खुल्ने कुनै संकेतै छैन। नेपाली बानी उस्तै—साना गल्लीबाट छिरिएर अगाडि बढ्न खोज्ने। म पनि त्यही भीडको एक हिस्सा—छिराउँदै, धकेल्दै, आफ्नो बाटो बनाउँदै। तर अर्को मोडमै स्कुटर फेरि रोकियो। घडी हेरेँ—५:४०।मनझनै दिक्क भयो। “कस्तो ठाउँ, कस्तो देश… धिक्कार!” आफूमै रिस उठ्ने, देशमै खिन्नता आउने क्षण। त्यति बेलामा फोन बज्यो।एक मनले उठाऊ भनेन, अर्को ले भन्यो उठाइहाल।अन्ततः फोन उठाएँ—लैनचौरको जाममा छु भनेँ र तुरुन्तै काटिदिएँ। फोन राखेपछि मनमा अर्को झन्झट—“नेपालमै केही गर्छु भन्ने मान्छे म… तर विदेश? खाडी?एक–पटक जाँदा बिग्रन्छ कि बनिन्छ?” अपरिचित दुविधाहरू मनमा ओइरिन थाले। जामसँगै गुन्गुनिएको देशको पीडा अगाडिको लाइन चल्न थाल्यो।घडी फेरि हेरेँ—५:५५।जाममा आधा घण्टा बितिसकेको। राहदानी, आन्दोलन, नेतृत्वहीन राजनीति—सबै विचार दिमागमा घोंचघोंच भइरहेका।“देश अभिभावकविहीन जस्तै! जेनेरेसन–जेड उठेर ओरालो लागेको देशलाई धकेल्दै छ, तर नेताहरू? कहाँ? कुन ग्रहमा?” अस्कल क्याम्पस नजिकै फेरि जाम।सिर्फ पाँच मिनेटको बाटो, तर रोकिन बाध्य।  हुँइकिएको स्कुटर, हुँइकिएको सपना त्यहाँबाट स्कुटर हुइँकियो। सोह्रखुट्टे ओरालो हुँदै, बायाँ मोडेर कालिमाटी। टेकु पुलमा अर्को जाम। यसपटक म पनि पूर्ण ‘नेपाली मोड’ माजसोतसो खाली ठाउँ हेरेर घुसाउँदै,गाडीहरूबीचबाट उछ्लाउँदै,अन्ततः बाफ पुगेर पेट्रोल भर्ने लाइनमै उभिएँ। ट्यांकी फुल गरेँ कसैको भर छैन सिटीको जामको। बाफल चोकदेखि कलंकीसम्म फेरि जाम।तर बिस्तारै सरिरहेछ, म पनि बिस्तारै घरतर्फ तानिँदै। स्युचाटार पुलबाट दायाँ मोडेँ कोठा नजिक पुगेको अनुभूति।  दिनको थकान, देशको चिन्ता आजको यात्रा केवल जामको कथा होइन यो देशमा बाँच्ने, काम गर्ने, स्वप्न देख्ने सबै युवाको कथा हो। दिनभरको थकान,रोजगारीको अनिश्चितता,देशप्रतिको पीडा,भोलिप्रतिको डर… यी सबै बोकेर म आज पनि घर फर्किँदै थिएँ। स्कुटरको आवाजभन्दा धेरै जोरदार आवाज त मनभित्र घन्किएको प्रश्न थियो “म कहाँ छु?देश कहाँ छ?र भोलि म कता हुने?”

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*