दुई लघुवित्तको शेयरमूल्य समायोजन

कंञ्चनपुर :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात निर्धन उत्थानको शेयरमूल्य ८३४ रुपैयाँ ४५ पैसा कायम भएको छ भने इन्फिनिटी लघुवित्तको ८३१ रुपैयाँ ६७ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत आइतबार निर्धन उत्थान लघुवित्तको शेयर प्रतिकित्ता ९९३ रुपैयाँ र इन्फिनिटी लघुवित्तको ९९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

निर्धन उत्थान लघुवित्त (NUBL) ले फागुन १२ गते बिहान १० बजे, लघुवित्तको केन्द्रिय कार्यालय, नक्सालमा २४ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २ करोड १९ लाख ५० हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

यस्तै सभाले संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ। सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी समेत गरेको छ।

त्यसैगरी, इन्फिनिटी लघुवित्त (ILBS) ले फागुन १३ गते बिहान ११ बजे, सहमति संस्था, विजय चोक गैंडाकोट नवलपरासीमा छैठौं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४१ करोड ४५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै सभाले कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पुर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*