मिसन ८४ हैन– भिजन ८४ काे पक्षमा छु एकेन्द्र सिंह धामी

कंञ्चनपुर साउन १२ : आजभोलि सामाजिक सञ्जालभरी ‘मिसन ८४’ ले निकै चर्चा पाएको छ। देशभर युवादेखि वृद्धासम्म यही नाराले भरिएका देखिन्छन्। तर प्रश्न के हो भने – के चुनाव जित्ने नारा नै हाम्रो अन्तिम लक्ष्य हो त? के देश बनाउने सपना केवल भोटसँगै सकिने हो? त्यसैले अहिले ‘मिसन’ हैन, ‘भिजन’ चाहिएको छ। हामी २०८४ सालको चुनावको तयारीमा जुटिरहेका छौं, तर के हामी त्यसबेलासम्म देशलाई कता लैजाने भन्ने सोचमा जुटिरहेका छौं त? मिसन ८४ को उद्देश्य केवल सत्ता हो, तर भिजन ८४ को लक्ष्य राष्ट्र निर्माण हो।भिजन ८४ भन्नाले केवल कुनै पार्टीको घोषणापत्र होइन, यो त देशलाई बनाउने साझा योजना हो। हामी शिक्षा सुधारको कुरा गरौं, जहाँ सरकारी स्कुलमा पनि गुणस्तरीय शिक्षाको पहुँच होस्। हामी स्वास्थ्यको कुरा गरौं, जहाँ गाउँघरमै उपचार सम्भव होस्। हामी रोजगारीको कुरा गरौं, जहाँ युवाले आफ्नो माटोमै सम्मानसाथ बाँच्न पाउन। अनि हामी सुशासनको कुरा गरौं, जहाँ जनता सरकारसँग डराउने होइन, सरकार जनतासँग उत्तरदायी होस्। मिसन ८४ एक कार्यक्रम हो – सीमित, अल्पकालीन र नेतामुखी। तर भिजन ८४ एक दृष्टिकोण हो – दीर्घकालीन, जनमुखी र मुलुकमुखी। देशमा परिवर्तन ल्याउन अब र्याली, नारा र भाषणले पुग्दैन। अब चाहिन्छ विचार, योजना र प्रतिबद्धता। अब चाहिन्छ  देशका सबै नागरिकको एउटै सपना: “सशक्त, सुशासित र समृद्ध नेपाल”। त्यसैले भनौं,अब नाराले हैन, कामले बोल्ने समय हो।अब भीडले हैन, भिजनले लड्ने समय हो। अब मिसन हैन — भिजन ८४।

जय नेपाल -एकेन्द्र सिंह धामी (एकेन जी)

शिक्षक, पत्रकार एवम् समाजसेवी युवा प्रतिनीधी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*