गोकुलेश्वरमा संचालनमा आयो ड्रीम रेष्टुरेण्ट एण्ड कफी शप

दार्चुला- जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र गोकुलेश्वरमा ड्रीम रेष्टुरेण्ट एण्ड कफी शप सञ्चालनमा आएको छ। गोकुलेश्वरबाट गुणस्तरीय हस्पिट्यालिटी सेवा प्रदान गर्ने उद्देश्यले करिब २५ लाख रुपैयाँको लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो।

अपिहिमाल बेस क्याम्पको प्रवेशद्वारका रूपमा समेत परिचित गोकुलेश्वरमा व्यवस्थित रेष्टुरेण्ट तथा कफी शप सञ्चालनमा ल्याइएको सञ्चालक राजेन्द्र पन्तले जानकारी दिए। उनका अनुसार स्थानीय युवाहरू जिज्ञासु खत्री, राजेन्द्र पन्त, पर्यटन अभियन्ता हिमालय भट्ट, दिपेन्द्र रावल र रामदत्त बिष्टको संयुक्त लगानीमा रेष्टुरेण्ट सञ्चालनमा आएको हो।

रेष्टुरेण्टमा जिल्लामै पहिलोपटक व्यावसायिक कफी मेसिनमार्फत विभिन्न प्रकारका कफी उपलब्ध गराइने सञ्चालक पन्तले बताए। त्यस्तै, खाना तथा खाजाका विभिन्न परिकार, १० प्रकारका चिया, पेय पदार्थ, आइसक्रिम लगायतका परिकार ग्राहकलाई उपलब्ध गराइनेछ।

रेष्टुरेण्टले स्थानीय बासिन्दा, कर्मचारी, विद्यार्थी, पर्यटक तथा गोकुलेश्वर आउने अन्य आगन्तुकलाई लक्षित गरी सेवा प्रदान गर्ने जनाएको छ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै होम डेलिभरी तथा अफिस डेलिभरी सेवासमेत सञ्चालन गरिने सञ्चालक पन्तले जानकारी दिए।

स्थानीय युवाहरूको लगानीमा आधुनिक तथा व्यवस्थित ढंगले सञ्चालनमा आएको ड्रीम रेष्टुरेण्ट एण्ड कफी शपले दार्चुलाको आतिथ्य तथा पर्यटन व्यवसायलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*