दार्चुला शैल्यशिखर ८ : लामो समयदेखि शिक्षण पेशामा संलग्न रहँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी का दार्चुला सभापति तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेश सामन्त यतिबेला मतदातासँग मत माग्दै चुनावी अभियानमा सक्रिय देखिएका छन्।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सामन्तले विभिन्न वडामा पुगेर घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। उनले दार्चुलाको समग्र विकास, सीमावर्ती क्षेत्रको व्यवस्थापन र पर्यटन प्रवर्द्धनलाई आफ्नो प्राथमिकता रहेको बताएका छन्।
दार्चुलामा विगत ३५ वर्षदेखि लिपुलेक क्षेत्रको मुद्दा चुनावी एजेन्डाका रूपमा उठ्दै आएको भए पनि ठोस उपलब्धि नदेखिएको भन्दै स्थानीयवासीले यसपटक कामको आधारमा नेतृत्व छनोट गर्नुपर्ने धारणा राखेका छन्।
यसैबीच, अपिहिमाल लगायत जिल्लाका पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पूर्वाधार विकास तथा सम्भावनाको सदुपयोग गर्न सांसदले विशेष पहल गर्नुपर्ने माग समेत उठिरहेको छ। स्थानीय तहका प्रतिनिधिहरू र सरोकारवालाहरूले पर्यटन, जडीबुटी, जलस्रोत तथा सीमापार व्यापारका क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउन सके दार्चुलाको आर्थिक अवस्था सुधार हुन सक्ने बताएका छन्।
चुनावी माहोल तातिँदै जाँदा मतदाताहरूले उम्मेदवारसँग स्पष्ट कार्ययोजना र जवाफदेहिताको अपेक्षा गरेका छन् ।

Be the first to comment