दार्चुला शैल्यशिखर ८ : सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कञ्चनपुर जिल्लाका तीनै निर्वाचन क्षेत्रमा आम जनता पार्टी (आजपा) का उम्मेदवारहरूले चुनावी भेटघाट तथा छलफललाई तिब्रता दिएका छन्। जिल्लासहित समग्र सुदूरपश्चिमको समृद्धि र विकासका लागि ‘मोबाइल’ चुनाव चिन्हमा मतदान गर्न उनीहरूले मतदातासँग अपिल गरेका छन्।
कञ्चनपुर–१ का उम्मेदवार सीता विक, कञ्चनपुर–२ का उम्मेदवार जग्गु चौधरी र कञ्चनपुर–३ का उम्मेदवार लक्ष्मी कुमारी विष्ट भट्टले घरदैलो, अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई तीव्र बनाएका छन्। आजपा नेता विक्रम बमका अनुसार उम्मेदवारहरूले सुदूरपश्चिमलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धतासहित मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
२१ फागुनमा हुने निर्वाचनमा ‘मोबाइल’ चुनाव चिन्हमा मतदान गरी आफ्ना उम्मेदवारलाई विजयी गराउन नेता बमले आग्रह गरे।
कञ्चनपुर–२ का उम्मेदवार चौधरीले भने, “कञ्चनपुरसहित समग्र सुदूरपश्चिमको विकासका लागि मैले आम जनता पार्टीबाट उम्मेदवारी दिएको छु। यहाँका जनताले भोट दिए पनि विगतमा काम नभएको गुनासो छ। हामी भने विकास र समृद्धिको स्पष्ट एजेण्डासहित आएका छौं।”
उम्मेदवारहरूले आफूहरू विजयी भई आजपाको सरकार बनेमा सुदूरपश्चिममै बिजुली, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा निःशुल्क बनाउने एजेण्डा रहेको बताएका छन्। युवालाई प्रदेशमै रोजगारी सिर्जना गर्ने र ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि विशेष सुविधा उपलब्ध गराउने प्रतिबद्धता कञ्चनपुर–३ की उम्मेदवार विष्ट भट्टले व्यक्त गरिन्।
कञ्चनपुर–१ की उम्मेदवार विकले पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी तथा मौलापुरकी मेयर रिना साहको उदाहरण दिँदै त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सेवा निःशुल्क रहेको दाबी गरिन्। मौलापुर रौतहट जिल्लामा पर्ने नगरपालिका हो। उनले त्यस्तै मोडेल कञ्चनपुरसहित सुदूरपश्चिममा लागू गर्ने लक्ष्यसहित ‘मोबाइल’ छापमा मतदान गर्न आग्रह गरिन्।
उम्मेदवार चौधरीले कञ्चनपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रको संरक्षण तथा विकासमा निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाए। “अब की बार आजपा सरकार” भन्ने नारासहित उनले दलतन्त्रविरुद्धको संघर्षलाई सफल बनाउन र जनतालाई देशको मालिक बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे।
स्थिरता, सुशासन, प्रणाली सुधार, जनउत्तरदायी लोकतान्त्रिक अभ्यास तथा पहिचान, सम्मान र समृद्धिका लागि यसपटकको निर्वाचनमा सक्षम र इमानदार व्यक्तिहरू एकजुट हुनुपर्ने उनीहरूको भनाइ छ।

Be the first to comment