calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
प्रदेश

इतिहासको पानामा अमर रहने महाकालीको झोलुङ्गे पुल : दोधारा–चाँदनीको पहिचान बोकेको ऐतिहासिक सम्पदा आज संकटमा

person जनताको आवाज • calendar_today २०८३ आश्विन १४, बुधबार १२:५० गते

कृष्णानन्द जोशी : कञ्चनपुर । नेपालको सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकालाई जोड्ने ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल केवल आवतजावत गर्ने माध्यम मात्र थिएन, यो पुल महाकालीपारि को नागरिकलाई आफ्नो देशसँग प्रत्यक्ष जोड्ने ऐतिहासिक पहिचान थियो।
वि.सं. २०६१ सालमा निर्माण सम्पन्न भएको यस पुलले दोधारा–चाँदनीका हजारौँ नागरिकको जीवनमा नयाँ आशा, सम्भावना र सहजताको ढोका खोलेको थियो। पुल निर्माण हुनुअघि दोधारा–चाँदनीवासीलाई महेन्द्रनगर पुग्न भारतीय भूमिको बाटो हुँदै बनबासा पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो। कतिपय अवस्थामा महाकाली नदीमा जोखिमपूर्ण ट्युब यात्रा गर्नुपर्ने अवस्था समेत थियो।
करिब १ हजार ४५२.९६ मिटर लम्बाइ र १.६ मिटर चौडाइ रहेको यो पुल त्यस समय एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित थियो। यसमा १२ वटा सेक्सन, आठवटा मुख्य टावर तथा चारवटा मुख्य स्पान रहेका छन्।
पुल निर्माणको ऐतिहासिक पृष्ठभूमि
वि.सं. २०५७/५८ सालतिर सुरु भएको मानिने यस ऐतिहासिक आयोजनाले वि.सं. २०६१ सालमा पूर्णता पाएको थियो। अन्तर्राष्ट्रिय विवरणअनुसार पुल सन् २००५ मा सम्पन्न भएको उल्लेख छ।
यस पुलको निर्माणले केवल दुई नगरपालिका जोड्ने काम गरेन, यसले भौगोलिक रूपमा महाकाली नदीले छुट्याएको भूभागलाई राष्ट्रिय मूलधारसँग जोड्ने ऐतिहासिक भूमिका निर्वाह गर्‍यो।
यस आयोजनामा तत्कालीन जनप्रतिनिधि रमेश लेखकको सक्रिय भूमिका रहेको स्थानीयवासीले स्मरण गर्दै आएका छन्। निर्माणका लागि चीन सरकारको आर्थिक सहयोग रहेको उल्लेख पाइन्छ। पुल नेपाली इन्जिनियर तथा प्राविधिकहरूको डिजाइन र सीपमा निर्माण भएको थियो

कुनै समय महाकाली नदीपारिको भूभागमा बसोबास गर्ने नागरिकले आफ्नो देशको सदरमुकाम पुग्न विदेशी भूमि प्रयोग गर्नुपर्ने अवस्था थियो। त्यही अवस्थालाई अन्त्य गर्दै बनेको यस पुललाई स्थानीयले नेपालको राष्ट्रिय एकता र भौगोलिक सम्बन्धको प्रतीकका रूपमा लिने गरेका छन्।
आजको दुःखद घटना : इतिहासको एउटा हिस्सा क्षतिग्रस्त
२०२६ सेप्टेम्बर ३० अर्थात् आज बिहान करिब ८ बजेको समयमा लगातारको वर्षाका कारण महाकाली नदीमाथि रहेको यस ऐतिहासिक पुलको बीच भागमा रहेको पिल्लर भत्किएको र पुलका केही सेक्सन नदीमा खसेको भन्ने जानकारी प्राप्त भएको छ।
प्राप्त विवरणअनुसार छैटौँ तथा तेस्रो सेक्सनतर्फको संरचनामा क्षति पुगेको छ। करिब २०० मिटर आसपासको भाग प्रभावित भएको बताइएको छ। घटनाको वास्तविक क्षतिको विवरण भने सम्बन्धित प्राविधिक निकायबाट पुष्टि हुन बाँकी छ।
वर्षौँसम्म हजारौँ नागरिकको पाइला बोकेको, महाकालीको तीव्र बहावसँगै उभिएर नेपालको पहिचान बनेको यो पुलको क्षतिको खबरले सम्पूर्ण सुदूरपश्चिमवासीलाई दुःखी बनाएको छ।