दार्चुला शैल्यशिखर ८ : बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ९ अन्तर्गत तल्लादेही–धारीमा अवस्थित स्वास्थ्य चौकी अहिले अत्यन्तै जीर्ण अवस्थामा पुगेको छ। एक समय व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको उक्त स्वास्थ्य संस्था पछिल्लो समय उपेक्षाको सिकार बनेको स्थानीयले गुनासो गरेका छन्।
स्वास्थ्य चौकीको पछाडिपट्टि रहेका पर्खालहरू भत्किएका छन् भने केही कार्यालय कक्षहरूमा ढोका समेत छैनन्। कोठाभित्रका बिजुली बत्तीहरू झुण्डिएको अवस्थामा छन्। भवनको ग्राउन्ड फ्लोरदेखि छतसम्म भित्ताको सिमेन्ट झरेको छ भने छतको अवस्था पनि उस्तै जर्जर देखिन्छ।
त्यसैगरी, खानेपानी ट्याङ्की, पानी फिल्टर, सोलार जस्ता आधारभूत सामग्रीहरूको समेत उचित व्यवस्थापन हुन सकेको छैन। हाल स्वास्थ्य चौकीको अवस्था हेर्दा ‘भूत बंगला’ जस्तै देखिने स्थानीयको भनाइ छ।
स्वास्थ्य चौकी परिसरमा घेराबार (पर्खाल) समेत छैन। सडक विस्तारका क्रममा पुराना पर्खाल भत्काइए पनि हालसम्म पुनर्निर्माण गरिएको छैन।
यस विषयमा न त व्यवस्थापन समितिका अध्यक्षको ध्यान गएको छ, न त पुर्चौडी नगरपालिका को। स्थानीयवासीले तत्काल ध्यान दिएर स्वास्थ्य चौकीको मर्मत तथा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्

Be the first to comment