दार्चुला शैल्यशिखर ८ : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक गणेश सिंह ठगुन्ना प्रतिनिधि सभा सदस्य पदका लागि पुनः चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ। दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ स्थायी ठेगाना भएका ठगुन्ना लामो समयदेखि जिल्लाको राजनीति र विकाससँग प्रत्यक्ष रूपमा जोडिँदै आउनुभएको छ।
२०४५ सालदेखि सक्रिय राजनीतिमा संलग्न ठगुन्नाले विद्यार्थी संगठन अनेरास्ववियूबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो। उहाँ २०४५ सालमा अनेरास्ववियू दार्चुला काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष रहनुभएको थियो भने २०४७ सालदेखि नेकपा (एमाले) जिल्ला कमिटी सदस्यका रूपमा काम गर्नुभएको थियो। २०५०, २०५३, २०६३ र २०६६ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट चार कार्यकाल पार्टी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो।
ठगुन्ना २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति दार्चुलाको सभापतिमा निर्वाचित हुनुभएको थियो। त्यसपछि २०७० सालको संविधान सभा निर्वाचनमा दार्चुलाबाट प्रत्यक्षतर्फ संविधान सभा सदस्यमा निर्वाचित भई संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पुनः प्रत्यक्षतर्फ निर्वाचित भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको थियो।
पार्टीभित्र संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका ठगुन्ना नवौँ महाधिवेशनबाट नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य बनेका थिए। २०७८ साल मंसिरमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका उहाँ २०८२ सालमा सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित हुनुका साथै सचिवालय बैठकबाट सुदूरपश्चिम संयोजक तथा जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको छ।
राजनीतिक यात्रामा सफलता र पराजय दुवै भोग्नुभएका ठगुन्ना २०६४ सालको संविधान सभा सदस्य पद र २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनुभएको थियो। ती अनुभवले आफूलाई अझ परिपक्व र जिम्मेवार बनाएको उहाँको भनाइ छ।
स्नातक (बि.एस.सि.) उत्तीर्ण ठगुन्ना पेशागत रूपमा शिक्षकको अनुभवसमेत राख्नुहुन्छ। आगामी निर्वाचनमा दार्चुलाको पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, रोजगारी सिर्जना तथा संघीयताको प्रभावकारी कार्यान्वयन उहाँका मुख्य चुनावी एजेन्डा रहेका छन्।
स्थानीयस्तरमा अनुभवी, संगठनात्मक रूपमा सबल र जनतासँग निरन्तर सम्पर्कमा रहने नेताका रूपमा चिनिएका ठगुन्नालाई यस पटकको निर्वाचनमा बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

Be the first to comment