शैल्यशिखर ८ दार्चुला : चन्द्रा ऐर चाँदनी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२, महेन्द्रनगरमा जन्मेकी एक निडर, साहसी, संवेदनशील तथा बहुआयामिक व्यक्तित्व हुन्। उनको जीवन संघर्ष, धैर्य र निरन्तर आत्मसंघर्षको कथा हो। सानै उमेरदेखि उनले जीवनका कठोर यथार्थसँग जुध्नुपर्यो, तर ती चुनौतीहरू नै उनको चेतना, लेखन, सेवा र राजनीतिप्रतिको प्रतिबद्धताको आधार बने।
बाल्यकालदेखि नै उनी लेखनप्रति गहिरो रुचि राख्थिन्। साहित्यिक कलम चलाउँदै उनले कविता र गजल सिर्जना गरिन्, जुन विभिन्न पत्रिकाहरूमा प्रकाशित हुनुका साथै रेडियो कार्यक्रममार्फत वाचनसमेत गरिन्थ्यो। साहित्यप्रतिको यही लगावका कारण उनले वि.सं. २०६७ फागुनमा “अधुरो सपना” नामक आफ्नो पहिलो पुस्तक प्रकाशित गरिन्। उक्त पुस्तकमा उनले जीवन, संघर्ष, सपना, पीडा र समाजका यथार्थ पक्षहरूलाई समेटेकी थिइन्। साहित्यसँगै गायन क्षेत्रमा पनि उनको क्षमता उत्तिकै सशक्त थियो, तर पारिवारिक विविध समस्याका कारण त्यसलाई निरन्तरता दिन भने सकिनन्।
चाँदनी ऐरको बाल्यकाल सहज थिएन। करिब ७/८ वर्षको उमेरमै बुवालाई गुमाउनुको पीडाले उनको बालमनमा गहिरो चोट पुर्यायो। त्यो क्षति उनका लागि असह्य थियो, तर समयसँगै आफूलाई सम्हाल्दै, पीडालाई शक्तिमा बदल्दै उनी अघि बढिन्। उल्टाखामकै साधारण विद्यालयमा अध्ययन गर्दै साधारण जीवनशैलीमै उनको बाल्यकाल बित्यो। बुवाले समाज, धर्म, संस्कृति र सेवामा पुर्याएको योगदान सम्झिँदै उनी सानैदेखि नै मनकारी, सहयोगी र संवेदनशील स्वभावकी भइन्।
यही मानवीय भावना उनलाई सामाजिक सेवातर्फ डोर्यायो। विभिन्न संघ–संस्थामा आबद्ध भई स्वयंसेवकका रूपमा उनले सरसफाइ अभियानदेखि भ्रष्टाचार न्यूनीकरण अभियानसम्म निरन्तर करिब ५ वर्ष काम गरिन्। नेपालका विभिन्न क्षेत्रहरूमा पुगेर बाढीपीडित, गरिब तथा विपन्न समुदायलाई न्यानो लुगा, खाद्यान्न, बालबालिकालाई लुगा, स्कुल ड्रेस, स्टेशनरी तथा आर्थिक अवस्था नाजुक भएकाहरूलाई सकेको आर्थिक सहयोग जुटाएर निरन्तर सहयोग गर्दै आइन्।
उनी Transformative Society of Nepal संस्थाकी संस्थापकसमेत रहिन्। सो संस्थामार्फत उनले करिब ७/८ वर्षसम्म महिला अलपत्र उद्धार, बालबालिकाको हक–हित संरक्षण, सामाजिक न्याय र मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गरिन्। सामाजिक सेवा उनका लागि दायित्व मात्र नभई जीवनको उद्देश्य बन्यो।
सामाजिक कार्यकै क्रममा उनले बुझेकी थिइन् कि दिगो परिवर्तनका लागि नीति र शासन प्रणालीमै इमानदार हस्तक्षेप आवश्यक छ। यही बुझाइका आधारमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सँग आबद्ध भइन्। पार्टीको सुदूरपश्चिम प्रदेश (सुप) को पहिलो भेलादेखि नै उनी सक्रिय रूपमा पार्टी निर्माण र संगठन विस्तारमा लागिरहिन्।
वि.सं. २०७९ को निर्वाचनमा उनी संघीय समानुपातिक तर्फ उम्मेदवार भइन्। खस आर्य महिला समूहबाट ३ नम्बरमा नाम समावेश भई, सबै क्लस्टर मिलाउँदा १८ नम्बरमा पर्न सफल भइन्। यद्यपि विधि र प्रक्रिया अनुसार सांसद बन्ने अवसर नपाए पनि, यसले उनको राजनीतिक प्रतिबद्धता कमजोर बनाएन।
हाल पनि उनी संघीय समानुपातिक तर्फ उम्मेदवारी दिँदै सुदूरपश्चिम प्रदेशबाट निडर, साहसी महिलाको प्रतिनिधित्व गर्दै अघि बढिरहेकी छिन्। उनको स्पष्ट प्रतिबद्धता छ— केवल सुपका मात्र होइन, सम्पूर्ण देशभरका समस्याहरू, महिला, सामाजिक न्याय, सुशासन र आम नागरिकका मुद्दाहरूलाई स्वयं अधिकारिक रूपमा सदनमा उपस्थित भएर उठाउने।
चाँदनी ऐरको जीवन साहित्य, सेवा, संघर्ष र सिद्धान्तमा आधारित राजनीतिले बनेको छ। उनी विश्वास गर्छिन्— इमानदारी, साहस र निरन्तरताले राजनीति र समाज दुवैलाई शुद्ध बनाउन सकिन्छ। भविष्यमा आफ्ना संघर्ष, अनुभव र यात्रालाई पुस्तकका रूपमा उतारेर नयाँ पुस्तालाई प्रेरणा दिने उनको सपना अझै जीवित छ।
उनी जनतासँग छिन्, जनताका लागि छिन्, र समाजदेखि सदनसम्म परिवर्तनको आवाज निरन्तर बुलन्द गरिरहेकी छिन्।

Be the first to comment